Investor's Guide

वैकल्पिक रणनीति सहित पूर्वतयारी, तुलात्मक विश्लेषण सहित सटिक निर्णय र कारोवार अनि पछुतो होइन रणनीति पुनरावलोकन नै धितोपत्र बजारमा टिक्ने र कमाउने सूत्र हुन् ।

धितोपत्र किनबेच कहाँ र कसरी ?

सरकार, नियमक र विश्लेषक भनिएकाहरू नेपाली शेयरबजारमा शेयर मूल्य निकै कम भएको र बियरिस अवधी सकिएको बताइरहेका छन् । अहिले शेयरमा लगानी गर्ने अर्थात् शेयर किन्ने समय भएको बताउँदै आएका छन् । तर, कारोबार मापन गर्ने नेप्से परिसूचक र बजार मूल्यमात्र हेरेर शेयर किन्ने र बेच्ने समय तोक्नु भनेको अँधेरोमा तीर हाने जस्तै हो । कुनै बेला सरकारकै मन्त्रीले जलविदुतको शेयर हुने व्यक्ति ‘समृद्ध हुने’ र ‘ज्वाँइ खोज्दै आउने’ घरसम्म आउने अभिव्यक्ति दिएका थिए तर, यही जलविद्युत कम्पनीको शेयर मूल्य अंकितभन्दा आधामा झरेको छ । वचत परिचालन र लगानीको एउटा पाटो शेयर पनि हो । शेयर किन्नु भनेको कम्पनीको व्यवसायिक, व्यवस्थापकिय, बजार, अर्थतन्त्र जस्तै सबै क्षेत्रको जोखिम स्वीकार्नुपर्ने हुँदा यसलाई सबैभन्दा जोखिमपूर्ण क्षेत्र मानिन्छ, तर केही जोखिमवहन र व्यवस्थापन गर्नसक्दा सम्भावित पूँजीगत लाभ र वार्षिकरुपमा प्राप्त हुनसक्ने लाभांस (सुनिश्चित हुन्न) सहितको दोहोरो प्रतिफल प्राप्त हुनसक्छ । शेयरबजारमा प्रवेश र कारोवार गर्न केही तयारी र जानकारी राख्नैपर्छ ।

 

उपलब्ध वित्तीय उपकरण

नेपाली शेयरबजारमा लगानी तथा किनबेचका लागि (क) सूचीकृत कम्पनीका शेयर, (ख) सामूहिक लगानी कोषका इकाई (म्युचुअल फण्ड युनिट), (ग) ऋणपत्र (डिबेन्चर) र (घ) नेपाल राष्ट्र बैंक वा सरकारी वचतपत्र र बण्ड उपलब्ध छन् । यी मध्ये शेयर र म्युचुअल फण्डका युनिटमा सबैभन्दा बढी जोखिमपूर्ण र अनिश्चित तर, लाभांस एवम् पूँजीगत लाभसहितको दोहोरो प्रतिफलको सम्भावना हुन्छ । यस्तै ऋणपत्र र बचतपत्र वा सरकारी बण्डलाई सुनिश्चित दरमा प्रतिफल प्राप्त हुने तुलनात्मक रुपमा जोखिमरहित लगानी उपकरण (धितोपत्र) मानिन्छ ।

बजार प्रवेश विन्दुहरू :

आफ्नो पहुँच, लगानी र जोखिम व्यवस्थापन क्षमता अनुसार प्राथमिक र दोस्रोबजार सहित निम्न वैकल्पिक माध्यमबाट धितोपत्र बजारमा प्रवेश गर्न सकिन्छ ।

१. कम्पनीले आफै वा निष्कासन प्रवन्धक (इस्यु म्यानेजर) मार्फत सोझै लगानीकर्तालाई विक्री गर्ने शेयर, म्युचुअल फण्ड वा डिबेन्चर चाहे त्यो प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ), थप सार्वजनिक निष्कासन (एफपिओ), हकप्रद, लिलामी (अक्सन) समेतलाई प्राथमिक बजारका रुपमा बुझिन्छ । आइपिओ तथा एफपिओमा सामान्यतः शेयरको प्रति कित्ता रु. १००, म्युचुअल फण्ड प्रति युनिट रु. १० र डिबेन्चर प्रति इकाई रु. १,००० को अंकित मूल्य वा प्रिमियम सहित कम्पनीले तोकेको दरमा बिक्रीमा आउँछ । न्यूनतम शेयर १० किता, म्युचुअल फण्ड १०० युनिट र डिबेन्चर २५ इकाईको कारोवार हुन्छ । लिलामीमा अंकित मूल्य वा प्रिमियम सहित तोकिएको शर्त बमोजिम हुन्छ ।

२. सबै लगानीकर्ताले प्राथमिक निष्कासनमा सिधै र चाहेजति शेयर वा डिबेन्चर किन्ने अवस्था नहुन सक्छ भने किनिएका शेयर, डिबेन्चर, म्युअुचल फण्ड जस्ता धितोपत्रहरू विभिन्न कारण बेच्नुपर्ने हुनसक्छ । विभिन्न धितोपत्र किनबेच गर्ने बजारलाई नै धितोपत्र वा पूँजीबजार भनिन्छ र जसको संचालन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अनुमति प्राप्त ५० धितोपत्र व्यवसायि (ब्रोकर वा दलाल) मार्फत् हुन्छ । दोस्रो बजारमा कारोवारका लागि निष्कासित धितोपत्र नेप्सेमा सूचीकृत हुनु र किनबेच गर्ने व्यक्ति÷निकायले ब्रोकर कहाँ ‘कारोवार खाता’ खोलेको हुनुपर्छ ।

३. धितोपत्रमा लगानी गरी जोखिम र मुनाफा लिन चाहने तर बजार, जोखिम, किनबेचको ज्ञान नभएर वा समय दिन नसक्नेहरूले क) म्युचुअल फण्डका युनिट किनेर वा ख) लगानी व्यवस्थापन सेवा (पिएमएस) लिएर धितोपत्र बजारमा प्रवेश गर्न सकिन्छ । विज्ञ समूहबाट लगानी व्यवस्थापन हुने, सार्वजनिक निष्कासनमा आरक्षण र विभिन्न करमा छुट हुने म्युचुअल फण्डमा प्राथमिक निष्कासन वा दोस्रो बजारबाट स–सानो रकम लगानी गरी धितोपत्र बजारको फाइदा लिन सकिन्छ । यस्तै धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकरहरू मार्फत प्रदान गरिने पोर्टफोलियो म्यानेजमेन्ट सेवा (पिएमएस्) मा भने निश्चित सेवा शुल्क र मुनाफामा हिस्सेदारी सहित लगानीकर्ताको तर्फबाट धितोपत्रमा लगानी, जोखिम र प्रतिफल व्यवस्थापन गरिदिन्छन् ।

 

बजार प्रवेशको पूर्वतयारी

धितोपत्रमा लगानी तथा कारोवारका लागि कम्तिमा (क) आफ्नै नाममा बैंक खाता, (ख) शेयर भण्डारण गर्ने डिम्याट खाता र (ग) सिआरएन नम्वर हुनैपर्छ । कुनै पनि धितोपत्रमा आवेदन गर्न, किनेको धितोपत्रको भुक्तानी गर्न र बेचेको रकम प्राप्त गर्न पनि बैंक खाता अनिवार्य छ । विगतमा जस्तो किनिएको धितोपत्र भौतिक स्वरुपमा प्रमाणपत्र प्राप्त नहुने हुँदा कुनै पनि विधिबाट किनिएको धितोपत्र भण्डारण गर्न मात्र होइन, दोस्रो बजारमा धितोपत्र किनबेच गर्न तथा कम्पनीले प्रदान गर्ने बोनस वा हकप्रद शेयर प्राप्त गर्न समेत डिम्याट खाता अनिवार्य छ । अझ अभौतिक नभएको धितोपत्रको नगद लाभांस समेत प्राप्त नहुने हुँदा डिम्याट खाता खोल्न र त्यसमा आफ्नो बैंक खाता जोड्न अनिवार्य छ । धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तिय संस्था, मर्चेण्ट बैंकर र दलाल गरी ७५ वटा डिपी सेवा प्रदायक कहाँ डिम्याट खाता खोल्न सकिन्छ । यस्तै प्राथमिक निष्कासन वा अनलाइन हकप्रद आवेदन गर्न भने सिआरएन नम्वर अनिवार्य हुन्छ, जुन रकम जम्मा हुने खाता भएको बैकले प्रदान गर्दछ ।

दोस्रो बजारमा धितोपत्र किनबेच गर्न अनुमति प्राप्त धितोपत्र व्यवसायी (स्टक ब्रोकर÷शेयर दलाल) कहाँ ग्राहक परिचय (केवाईसी) फारम भर्दै ‘कारोवार खाता’ खोल्नैपर्छ । डिम्याट खाताको प्रमाण, बैंक खाता प्रमाण, फोटो र नागरिकताको फोटोकपि सहित ब्रोकर कार्यालयमा गएर ‘कारोवार खाता’ खोले पछि विशेष ग्राहक परिचय नम्वर पाइन्छ र सोही नम्बर नै कारोवारको लागि प्रयोग हुन्छ । एकपटकमा रु. ५ लाखभन्दा बढीको धितोपत्र किनबेच गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य छ ।

यसका साथै आफ्नो डिम्याट खातामा भएको धितोपत्रको जानकारी लिन र बिक्री गरिएको शेयर कम्प्युटर प्रणालीबाट हस्तान्तरण गर्न सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) ले उपलब्ध गराउने ‘मेरो शेयर’को सेवा लिन सकिन्छ । डिम्याट खाता खोलिएको डिपी सेवा प्रदायकलाई थप शुल्क रु. ५० तिरेर ‘मेरो शेयर’ को सुविधाका लागि पासवर्ड र युजर आईडी पाउन सकिन्छ । यसको लागि पनि आफ्नै इमेल ठेगाना हुनुपर्छ ।

धितोपत्र किनबेचका विकल्पहरू

डिम्याट, बैंक खाता, सिआरएन नम्वर, कारोवार खाता जस्ता आधारभूत कुरा भएपछि क) तोकिएको संस्थामा गएर वा ख) इन्टरनेटका माध्यमबाट आफैं धितोपत्र कारोवार गर्ने विकल्प हुनेछ । प्राथमिक निष्कासको अवस्थामा कम्पनि वा निष्कासन प्रवन्धकले तोकेका निकायहरू जस्तै सम्बन्धित कम्पनीको कार्यालय, मर्चेन्ट बैंकर वा बैंक तथा वित्तिय संस्थामा गएर त्यहाँ उपलब्ध फारम भरी धितोपत्र खरिदका लागि आवेदन गर्न सकिन्छ । यस्तै ‘मेरो शेयर’ मार्फत् मोवाइल वा कम्प्युटरबाट निर्धारित समयमा घर, कार्यालयबाट आफैले आवेदन गर्न सकिन्छ ।

दोस्रो बजारमा पनि क) कारोवार खाता खोलेको स्टक–ब्रोकरको कार्यालयमा आफैं उपस्थित भएर, ख) टेलिफोन वा इमेल जस्ता संचार माध्यमबाट आदेश दिएर, र ग) अनलाईन सफ्टवेयर मार्फत आफैले धितोपत्रको किनबेच आदेश प्रविष्ट गर्न सकिन्छ । अनलाइन कारोवारका लागि शेयर दलालसँग सम्झौता गर्नुका साथै २५ प्रतिशत रकम धरौटी राखेर युजरनेम र पासवर्ड लिएर इन्टरनेटका माध्यमबाट कारोवार गर्ने वेबसाइट (टिएमएस)मा प्रवेश गरी मोवाइल वा कम्प्युटरबाट धितोपत्र किनबेच गर्न सकिन्छ ।

सचेत र विवेकशिलता

शेयर लगानी जोखिमयुक्त लगानी हो । कम्पनी वा म्युचुअल फण्डले वार्षिक लाभांश दिन्छ भन्ने सुनिश्चित हुँदैन । जोखिम व्यवस्थापन गर्न नसके प्रतिफल प्राप्त नहुने मात्र होइन, सावाँ समेत घाटा हुन्छ । त्यसैले शेयर वा कुनैपनि धितोपत्रमा लगानी गर्नुभन्दा अगाडि कम्पनीको व्यवसायिक, व्यवस्थापकीय, मूल्यगत, अर्थतन्त्र र कानुनी वा नियामकीय जोखिमहरू लिन तयार हुनुको साथै जोखिम व्यवस्थापनको रणनीति, धितोपत्र र कम्पनीको छनौट, रकम (स्रोत)को व्यवस्थापन, लगानी गरिएका कम्पनीको अवस्था एवम् बजारमूल्यको अनुमान र विश्लेषण अनि सहि समयमा सहि निर्णयको दक्षता हुनुपर्छ । संक्षेपमा लगानीका लागि मानसिक र आर्थिक रुपमा तयारीसँगै लाभांस वा पूँजीगत लाभ; अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कुन अवधिसम्म कति जोखिम र प्रतिफलका लागि लगानी गर्ने र आइपर्ने समस्या र जोखिम कसरी व्यवस्थापन गर्ने भन्ने रणनीति जरुरी हुन्छ ।

अझ दोस्रो बजारमा शेयर किनबेच बढि जोखिमपूर्णका साथै चातुर्यता, लगानी व्यवस्थापन तथा निर्णय क्षमता र बजार पहुँचको जरुरी हुन्छ । किनभने, प्राथमिक निष्कासन वा पहिले किनेको शेयर व्यवहारिक आर्थिक आवश्यकता मात्र होइन, आफूलाई थप फाइदाजनक नदेखेर नै बेच्न खोजेको वा बढी लाभ देखेर नै किन्न खोजेको हुन्छ । त्यसैले किनबेच गर्नु अगाडि चनाखो नहुने हो भने किन्दै गर्दा अरूको डम्पिङ साइट हुने र आफूसँग भएको शेयर अरूले कम मूल्यमा लिएर जाने अर्थात् कसैले फसाउन थापेको धरापमा पर्ने सम्भावना रहन्छ, जसलाई शेयरबजारको भाषामा ‘बुलिस वा बियरिस ट्रयाप’ मा पार्ने भनिन्छ ।

यस्तै किन्दा तोकिएको अवधि भित्र रकम तिर्ने व्यवस्था, ऋणको किस्ता र ब्याजको व्यवस्था तथा बिक्री गर्दा डिम्याट खातामा बेचिएको किता बराबर शेयर उपलब्ध भएको र तोकिएको अवधिमा नै ‘मेरो शेयर’बाट ईडिआइएस वा डेविट इन्स्ट्रक्सन स्लिप (डिआईएस) बाट दलाल कहाँ पुगेको सुनिश्चित गर्नुपर्छ, अन्यथा जति किता दिन सकिन्न सोको २० प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने हुन्छ ।

अन्त्यमा, वैकल्पिक रणनीति सहित पूर्वतयारी, तुलात्मक विश्लेषण सहित सटिक निर्णय र कारोवार अनि पछुतो होइन रणनीति पुनरावलोकन नै धितोपत्र बजारमा टिक्ने र कमाउने सूत्र भएको बिर्सनु हुन्न ।